काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति र उपराष्ट्रपतिबारे समझदारीको कोसिस भइरहेको बताउनुभएको छ । आज बसेको संसदको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहन्भएका प्रधानमन्त्री दाहालले सभामुखको निर्वाचनमा सत्ता साझेदार दलहरु एकै ठाउँमा उभिएको बताउँदै राष्ट्रपति र उपराष्ट्रपतिबारे समझदारीको कोसिस भइरहेको बताउनुभएको हो ।
प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘प्रमुख प्रतिपक्षले पनि उम्मेदवार उठायो, बहुमतद्वारा घोषणा भयो । भोलि माघ ६ गते उपसभामुखको मनोनयन हुन्छ, माघ ७ गते (पर्सि) शनिबार निर्वाचन यही प्रक्रियामा हुन्छ ।’
राष्ट्रपतिमा चाहिं के हुन्छ नि भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उहाँले, ‘राष्ट्रपतिको कुरा अझै समय बाँकी छ । हामी सत्ता साझेदार र मेरो पनि कुनै एउटा समझदारी बनिदिए हुन्थ्यो भन्ने कोसिस छ । हामी त्यो कोसिस जारी राख्छौं’—भन्नुभयो ।