साङ्केतिक तस्वीर
काठमाडौं — काठमाडौंमा एक पुरुषले आफैँमाथि पेट्रोल छर्किएर आगो लगाएको घटनाको कारण खुलेको छ । काठमाडौंको सुन्धारास्थित सिभिल मलको भुईं तलामा उनले प्रेम सम्बन्धमा आएको खटपटका कारण आफैँमाथि पेट्रोल छर्किएर आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।
सुन्धारास्थित सिभिल मलको भुईं तलामा काठमाडौं महानगरपालिका–१६ मा बस्दै आएका २९ वर्षीय विशान गुरुङले आगो लगाई आत्मदाहको प्रयास गरेका हुन् । प्रहरीका अनुसार उनले आफ्नो शरीरमा आफैँले पेट्रोल छर्की आगो लगाएका थिए । आगो स्थानीय र सिभिल मलका सुरक्षा गार्डले निभाएका थिए ।
काठमाडौं प्रहरी परिसरका एक अधिकारीले भने, “प्रेम सम्बन्धकै कारण आगो लगाएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । उनी घाइते अवस्थामा भएकाले अन्य कुरा अहिले खुल्न सकेको छैन ।”
घाइते गुरुङलाई उपचारका लागि सुरुमा राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि कीर्तिपुर अस्पतालमा पठाइएको छ । उनको अनुहार र शरीरका विभिन्न भाग आगोले जलेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।