काठमाडौं — नवनिर्वाचित सभामुख देवराज घिमिरेले सभाको प्रतिनिधित्व निष्पक्ष भएर गर्ने बताउनुभएको छ । आज बिहीवार प्रतिनिधि सभाको बैठकबाट सभामुखमा निर्वाचित हुनुभएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सभाको प्रतिनिधित्व आफूले ठिक ढङ्गबाट गर्ने बताउनुभएको हो ।

सभामुख घिमिरेले सभामुखमा रहँदा निष्पक्ष र तटस्थ भमिकामा आफू कार्यसम्पादनमा लाग्ने बताउनुभयो । उहाँले विगतबाट शिक्षा लिँदै संसदलाई चुस्त बनाएर अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, ‘म निष्पक्षताका साथ सभा सञ्चालनमा लाग्नेछु । प्रतिनिधिसभाको प्रतिनिधित्व ठिक ढंगले गर्नेछु । विगतका सभामुखहरुको कामबाट शिक्षा लिँदै संसदलाई चुस्त बनाउन लाग्नेछु ।’

आज बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा भएको मतदानमा सत्तारुढ दलका साझा उम्मेदवार घिमिरे १६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित हुनुभएको हो । नेपाली काङ्ग्रेसको तर्फबाट उम्मेदवार रहनुभएकी ईश्वरीदेवी न्यौपानेले भने १०० मत प्राप्त गर्नुभएको थियो ।