काठमाडौं — प्रतिनिधिसभाको आज बसेको बैठकमा मधेश आन्दोलनमा सहिद भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ । सभामुख चयन प्रक्रिया अघि बढिरहँदा जनमत पार्टीका संसदीय दलका नेता चन्द्रकान्त राउत (सिके राउत)ले मधेश आन्दोलनमा शहीद भएकाप्रति उठेर श्रद्धान्जली व्यक्त गर्न आग्रह गर्नुभएपछि सांसदहरुले उठेर सहिदप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने मौनधारणका लागि उभिनुभएन ।
शहीदप्रति पनि विभेद भएको भन्दै जनमत पार्टीका संसदीय दलका नेता राउतले आक्रोश पनि व्यक्त गर्नुभएको थियो । सरकार गठनका बेला मात्र राष्ट्रिय सहमतिको कुरा उठ्ने गरेको भन्दै उहाँले मधेशी, थारुसहितलाई बाहिर राखेर राष्ट्रिय सहमति नहुने बताउनुभयो ।