फाइल तस्वीर
काठमाडौं —प्रतिनिधिसभाको बैठकमा विमान दुर्घटनासम्बन्धी विषय कार्यसुचीमा नपरेको भन्दै नेपाली काङ्ग्रेसले आपत्ति प्रकट गरेको छ । आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको विषय संसद्को कार्यसुचीमा किन नपरेको भन्दै आज बिहीबारको बैठकमा काङ्ग्रेस्ले प्रतिनिधिसभा बैठकमा प्रश्न उठाउनु भएको हो ।
आइतबार भएको विमान दुर्घटनापछि बसेको पहिलो बैठकमा आधिकारिक रुपमा कुनै जानकारी गराउने कार्यसूची उल्लेख नगरिएको भन्दै प्रतिनिधिसभा बैठकमा विशेष समय माग्दै काङ्ग्रेसका सांसद् रमेश लेखकले आपत्ति जनाउनु भएको हो । बैठकमा बोल्दै सांसद लेखकले विमान दुर्घटनामा निधन भएकाहरुको शव आफन्तलाई बुझाउन नसक्दा पीडा र आक्रोश बढेको समेत उल्लेख गर्नुभयो ।
बैठकमा बोल्दै सांसद लेखकले ‘सरकार पीडित परिवारप्रति उदासिन र निरपेक्ष हुन सक्दैन भन्दै ‘शव बुझ्न भएको ढिलाईका कारणले आफन्तरमा पीडा र आक्रोश बढेको समाचार पढिरहेका छौं। सरकारले ५ सदस्यीय छानविन समिति बनाएको छ। आजको बैठकमा सरकार यो बैठकमार्फत सरकारले सदनलाई जानकारी गराउन पथ्र्यो। यसअघि पनि यही हुने गरेको थियो’– भन्नुभयो ।
‘तर, आधिकारिक थलो भएको कारणले संसदमा जानकारी होला भन्ने मैले सोचेको थिएँ । आजको कार्यसूचीमा यो छैन। आजका कार्यसूचीलाई स्थगन गरेर भएपनि यो बारेमा सरकारले सदनलाई जानकारी गराउनपर्छ’– सांसद लेखकको भनाइ थियो ।