फाइल तस्वीर
काठमाडौं – प्रतिनिधिसभाको आज बिहीबार बस्ने बैठकले नयाँ सभामुख चयन गर्दैछ । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकले सभामुख चयन गर्न लागेको हो ।

सभामुखका लागि सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार देवराज घिमिरे र सत्ता इतर दलहरुका साझा उम्मेदवार नेपाली काङग्रेसकी ईश्वरी न्यौपानेबीच प्रतिस्पर्धा हुँदैछ । सभामुखमा दुई दकशपछि यसरी बहुमतीय प्रक्रियाअन्तर्गत निर्वाचन हुन लागेको हो । यसअघि २०५१ मा बाहेक त्यसपछिका सभामुखहरु सर्वसम्त रुपमा चयन हुँदैआएका थिए ।

सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका एमालेका सांसद देवराज घिमिरे झापा जिल्लाको निर्वाचन क्षेत्र नम्बर –२ बाट निर्वाचित प्रतिनिधि सभा सदसस्य हुनुहुन्छ । एमालेको स्थायी समिति सदस्यसमेत रहनुभएका घिमिरे एकपटक राष्ट्रियसभा सदस्य पनि बन्नु भएको थियो ।

सत्ता इतर राजनीतिक दलहरुले उम्मेदवार बनाइनु भएकी काङ्ग्रेस सांसद ईश्वरी न्यौपान दाङ जिल्लाबाट समानुपातिक प्रणाली कोटाबाट प्रतिनिधिसभा सदस्य बन्नु भएको हो ।

कुल २७५ सदस्य सङ्ख्या रहेको प्रतिनिधिसभामा सभामुख निर्वाचित हुनका लागि कम्तिमा १३८ मत प्राप्त गर्नुपर्ने हुन्छ । सत्ता गठबन्धनसँग स्पष्ट बहुमत भएकाले सत्ता गठबन्धनका उम्मेदवार घिमिरे प्रतिनिधिसभाको सभामुख बन्ने पक्का छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन १६९ सांसदको समर्थन रहेको थियो । यद्यपि, त्यतिबेला सरकार बनाउन समर्थन गरेका केही साना दलहरुले यतिबेला असन्तुष्टि प्रकट गरेर सत्ता इतर दलका उम्मेदवारलाई मत दिए पनि सभामुखका उम्मेदवार घिमिरेलाई सभामुखमा निर्वाचित हुन कुनै समस्या देखिंदैन । सत्ता गठबन्धनमा रहेका मुख्य चार दलको मतले मात्रै पनि घिमिरे सभामुख बन्नुहुने देखिन्छ । एमालेको ७९ जना, माओवादी केन्द्रका ३२ जना, राष्ट्रिय स्वतन्त्र पार्टीका २० जना र राष्ट्रिय प्रजातन्त्र पार्टीका १४ जना सांसद् भएकाले यो सङ्ख्यालाई जोड्दा नै १४५ मत छ । सत्ता गठबन्धनसँग स्पष्ट बहुमत रहेकोछ ।

यद्यपि, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेका जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी भने सरकारप्रति असन्तुष्ट रहेकाले सभामुखमा कसलाई समर्थन गर्ने भन्नेबारे अहिलेसम्म कुनै निर्णय गरिसकेका छैनन् ।

नेपाली काङ्ग्रेसकी न्यौपानेको पक्षमा मत माग्न हिजो पार्टी सभापति शेरबहादुर देउवाले सत्ता बाहिरका दलहरुसँग आग्रह गर्दै नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका अध्यक्षसँग छलफल गर्नुभएको थियो । त्यसका अलावा सरकारलाई समर्थन गरेका अन्य साना दलहरुको पनि समर्थन लिने प्रयास देउवाले गर्नुभएको छ ।

काङ्ग्रेस सभापतिले जति प्रयत्न गरेपनि सभामुखमा काङ्ग्रेसकी उम्मेदवारलाई निर्वाचित गराउन फलामको च्युरा सावित हुनेछ । काङ्ग्रेसको ८८ मत र एकीकृत समाजवादीको १० मत बाहेक अन्य दलको मत झिनो सङ्ख्यामा छ । सरकारमा सामेल भएका चार दलबाहेक प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलको मतले पनि काङ्ग्रेस उम्मेदवारले सभामुखमा जित्न आवश्यक बहुमत पुग्ने अवस्था छैन । यद्यपि, सरकारमा जान खोजेका साना दलहरुको मत अन्त्यमा सत्ता गठबन्धनका उम्मेदवार देवराज घिमिरेकै पक्षमा जाने सम्भावनालाई अस्विकार गर्न सकिन्न ।