काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन ‘अनन्त’को कलेजो प्रत्यारोपण गरिने भएको छ । उहाँको स्वास्थ्यमा समस्या देखिएपछि गत शनिबार सुमेरु सिटी अस्पतालमा भर्ना हुनुभएको हो ।

लामो समयदेखि पुनको स्वास्थ्य हेर्दै आउनुभएका पेटरोग विशेषज्ञ प्रा.डा. युवराज शर्माका अनुसार पुनको कलेजोले ८० प्रतिशतभन्दा बिग्रिसकेको छ । डा. शर्माको अनुसार अब पुनको कलेजो प्रत्योरोण नै गर्नुपर्ने हुन्छ । डा. शर्माले भन्नुभयो, ‘अहिले उहाँको कलेजोमा समस्या देखिएको छ । जसले गर्दा पित्तको मात्रा बढ्ने गरेको छ । अबको थप उपचार उहाँ कलेजो प्रत्यारोपणमै जानुपर्ने हुन्छ ।’

माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन एक कार्यक्रममा सहभागी हुन गृहजिल्ला रोल्पा पुगेका पुनको स्वास्थ्यमा समस्या आएपछि हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो । डा. शर्माका अनुसार पुनको दुई महिनादेखि पेटमा पानी जम्ने समस्या देखिँदै आएको थियो । सुमेरु सिटी अस्पतालमा ल्याइएपछि पुनको साँढे २ लिटर पानी पेटबाट निकालिएको थियो । ‘८० प्रतिशत कलेजोले काम गर्न अल्छिपन ल्याएको अवस्थामा पेटमा पानी देखा पर्छ,’ शर्माले भने, ‘केही हप्ता वा महिनामा कलेजो प्रत्यारोपण गर्नुपर्ने देखिन्छ ।’

उहाँलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल, उपराष्ट्रपति नन्दकिशोर पुन लगायतका शीर्ष नेतासँग भेटघाट गरिसक्नुभएको छ । प्रत्यारोपणको बारेमा परिवार, पार्टीका उच्च तहका नेतासँग छलफल भइसकेको छ । प्रत्यारोपण कहाँ गर्ने भन्ने बिषयमा छलफल भइरहेको डा. शर्मा जानकारी दिनुभयो ।

पुनले यसभन्दा अगाडी चीनमा आफ्नो स्वास्थ्य उपचार गराइरहनुभको थियो । नेपालमा पनि कलेजो प्रत्यारोपण निरन्तर नभइरहेको र बाहिरबाट चिकित्सकको सहयोगमा भइरहेको छ । डा. शर्माले बताए अनुसार, ‘मेडिकल टिमको सर्पोट नेपाल र विदेशमा खासै फरक हुँदैन । तर, उहाँले चीनमा निरन्तर स्वास्थ्य परीक्षण गरिररहेको र नेपालमा पनि नियमित नभइरहेको अवस्थामा कहाँ गर्ने भन्ने कुराको छलफल भइरहेको छ ।’
डा. शर्माका अनुसार पुनको स्वास्थ्य स्थिर नै रहेको छ । ‘रोल्पाबाट आएपछि हामीले पेटबाट पानी पनि निकालेका थियौं । थप र के–के गर्नु पर्ने हो, गरिरहेको छौ । अहिले उहाँ कन्र्फरटेवल हुनुहुन्छ,’ उहाँले भन्नुभयो ।

शर्माका अनुसार उहाँलाई विश्वमा बिरलै देखिने जटिल प्रकृतिको वंशाणुतग रूपमा रहेको जण्डिस देखिएको छ । उहाँको जण्डिसको लेबल बेला–बेलामा उच्च हुने गरेको छ । जण्डिसको लेबल उच्च भएका कारण इन्फेक्सन भई शरीरका विभिन्न अंगमा असर देखिएको बताइएको छ । डा.शर्मा भन्नुहुन्छ, ‘काममा बढी खट्ने, तनाव बढी लिने र इन्फेक्सन हुँदा जण्डिसलाई बढी बढावा दिएको हो ।’

उहाँलाई पुनः केही समयअघिदेखि खाना रुची नहुने, पेट फुल्ने हुने समस्या देखिन थालेको थियो । केही औषधिले सेवनले सञ्चो पनि हुन्थ्यो । कलेजो आफै विकसित हुने अङ्ग भएकोले यसको प्रत्यारोपन गरेको तीन महिनादेखि नै यो विरामीको पेटमा आफैं विकसित हुन्छ र करिव छ महिनामा झण्डै ९० प्रतिशत कलेजोको विकास हुन्छ । यसले गर्दा कलेजो प्रत्यारोपण गरिएको विरामीले पुनः पहिले जस्तै जीवन जीउन सक्छ ।