फाइल तस्वीर
काठमाडौं — प्रतिनिधिसभाका सभामुखमा झापा निर्वाचन क्षेत्र नम्बर—२ बाट निर्वाचित नेपाल कम्युनिस्ट पाटी एमालेका सांसद् देवराज घिमिरेले उम्मेदवारी दिनुहुने भएको छ । साझेदार दलका तर्फबाट प्रतिनिधिसभाको सभामुखमा सांसद् घिमिरेलाई उम्मेदवार बनाउन लागिएको हो ।
नेकपा एमालेको भागमा परेको सभामुख पदमा एमालेले सांसद् घिमिरेलाई उम्मेदवार बनाउने भएपछि एमालेसहित माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद्हरुको समर्थन रहनेछ । यसअघिको सहमतिकै आधारमा सांसद् घिमिरेले आज बुधबार सभामुखमा उम्मेदवारी दिनुहुनेछ ।
एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्षबीच राष्ट्रपति एमालेले ५ वर्ष पूरै कार्यकालका लागि लिने तथा प्रधानमन्त्री र सभामुख आलोपालो दुवै दलले नेतृत्व गर्ने सहमति भएको थियो ।
एमालेबाट सभामुखका लागि उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा र नेतृ विद्या भट्टराईले पनि चाहना राखेका थिए । एमाले यस अघिनै अध्यक्ष ओलीका निकट मानिने घिमिरेलाई सभामुख बनाउने चर्चा भैरहेको थियो ।
संसद् सचिवालयले प्रतिनिधिसभाका सभामुख चयनको लागि प्रकाशित गरेको कार्यतालिकाअनुसार आज बुधबार दिउँसो १ देखि ४ बजेसम्म मनोनयन दर्ता हुने कार्यक्रम रहेको छ । आजै अपरान्ह ४ः१५ बजे नै उम्मेदवारहरूको सूची प्रकाशन हुनेछ । प्राप्त प्रस्तावहरू बिहीबार बिहान बस्ने प्रतिनिधिसभा बैठकमा पेस हुनेछन् ।
सभामुख चयनका लागि माघ ५ गते प्रतिनिधि सभाको बैठक बोलाइएको छ । सभामुखमा अन्य कुनै दलका उम्मेदवारले उम्मेदवारी दर्ता नगरेको अवस्थामा भने एमालेका सांसद् देवराज घिमिरे प्रतिनिधिसभाको सभामुखमा निविरोर्ध निर्वाचित हुनुहुनेछ ।
यदी, कुनै राजनीतिक दलका सांसद्ले सभामुखमा उम्मेदवारी दर्ता गराएको अवस्थामा भोलि निर्वाचन हुनेछ । कुल २७५ सदस्यीय प्रतिनिधिसभा सदस्यमध्ये सभामुखमा निर्वाचित हुनको लागि कम्तिमा १३८ मतको आवश्यक पर्दछ ।