फाइल तस्वीर
काठमाडौं — नेपाली काङग्रेसको पदाधिकारी बैठक बस्दै छ । प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी दिने÷नदिने भन्ने विषयमा छलफल गर्न पदाधिकारी बैठक बस्न लागेको हो ।

पदाधिकारी बैठक अहिले केहीबेरमा बस्दैछ । तात्कालीन पाँच दलीय गठबन्धनबाट प्रधानमन्त्रीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्वीकार नगरेको काङ्ग्रेसले सात दलीय गठबन्धन बनेर प्रधानमन्त्री बन्नु भएका प्रचण्डलाई संसदमा विश्वासको मत दिएर नयाँ गठबन्धनका मुख्य दुई दल माओवादी केन्द्र र एमालेबीच आशङ्का र अविश्वास पैदा गराउने रणनीति खेलेको थियो ।

यसतर्फ एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री दाहाललाई किन काङ्ग्रेसले समर्थन गरेको हो भनेर जिज्ञासा समेत राख्न पुग्नुभएको थियो । प्रधानमन्त्री प्रचण्डले ओलीले आफुले संसद्मा बोल्दै सबै राजनीतिक दलहरुसँग विश्वासका मत दिन आग्रह गरेको भन्दै ओलीको आशङ्कालाई मन्थर पार्नु भएको थियो ।

यता काङ्ग्रेसले आज हुने प्रतिनिधिसभाको सभामुखको उम्मेदवारी दिने बारेमा पनि दोधारमा देखिएको छ । उसले एमालेका उम्मेदवारलाई मत दिएर सभामुख बनाउने र राष्ट्रपतिका लागि काङ्ग्रेसले दावी गर्ने रणनीति बनाउने सम्भावना छ । यसोगर्दा प्रधानमन्त्री माओवादी केन्द्रको, सभामुख एमालेको र राष्ट्रपति काङ्ग्रेसको बनाएर राजनीतिक सन्तुलन देखाउन खोजिएको पनि विश्लेषण गरिंदैछ ।
सभामुख पदको लागि आज ४ बजेसम्ममा उम्मेदवारी दर्ता गर्नुपर्ने समय आइपुग्दा पनि काङ्ग्रेस निर्वाचनमा सहभागी हुने कि नहुने भन्नेमै दोधारमा रहेको बेला पदाधिकारी बैठक सुरुभएको छ । काङ्ग्रेसलाई यो पनि थाहा छ कि, सभामुखमा उम्मेदवारी दिनुको कुनै अर्थ छैन । त्यसैले उसले सभामुख पदका लागि उम्मेदवारी दिनुभन्दा सदासयता देखाएर राष्ट्रपति पद काङ्ग्रेसलाई दिन माओवादी केन्द्र र एमालेसँग आग्रह गर्न चाहेको छ ।
प्रधानमन्त्री पद नछोड्ने अहमताले पाँच दलीय गठबन्धन टुटेपछि नयाँ समीकरणबाट ब्युँझिएको काङ्ग्रेस प्रतिपक्षी भूमिका निभाउन भन्दा शक्ति बाँडफाँडमा केन्द्रीत भएको छ । जुन काङ्ग्रेसका लागि राजनीतिक रुपमै अभिषाप शिद्ध हुनसक्दछ ।