फाइल तस्वीर

काठमाडौं – सङ्घीय संसद्को प्रतिनिधिसभाका लागि सभामुख पदमा मनोनयन दर्ता हुँदैछ । कार्यतालिका अनुसार प्रतिनिधिसभाको सभामुखको लागि आज बुधबार मनोनयन दर्ता हुन लागेको हो ।

संसद् सचिवालयले प्रतिनिधिसभाका सभामुख चयनको कार्यतालिका प्रकाशन गरेको छ । सचिवालयले प्रकाशित गरेको कार्यतालिका अनुसार आज दिउँसो १ बजेदेखि ४ बजेसम्म सभामुख पदको लागि उम्मेदवार मनोनयन दर्ता गरिसक्नु पर्नेछ ।

बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको सङ्घीयस संसद् भवनमा मनोनयन दर्ता भएपछि आजै अपराह्न सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यक्रम छ । सभामुखको निर्वाचन भोली बिहीबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा हुनेछ ।

नयाँ निर्वाचित प्रतिनिधिसभाको पहिलो बैठक सुरु भएको १५ दिनभित्र प्रतिनिधिसभा सदस्यमध्येबाट एक जना सभामुख र एक जना उपसभामुख चयन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । प्रतिनिधिसभाले भोली नयाँ सभामुख चयन गर्नेछ ।

सत्ता गठबन्धनबाट सभामुखको लागि नेकपा एमालेका सांसद्ले आज उम्मेदवारी दिने छन् । तर एमाले भित्र सभामुखको लागि आकाङ्क्षी धेरै भएका कारण सभामुखमा कसलाई उम्मेदवार बनाउने भन्ने आज १२ बजेसम्म टुङ्गो लाग्ने र उम्मेदवारी दर्ता हुने बताइएको छ ।

सरकारलाई विश्वासको मत दिएर प्रमुख प्रतिपक्षी दल दाबी गरिरहेको नेपाली काङ्ग्रेस भने सभामुखमा उम्मेदवारी दिने वा नदिने भन्ने निर्णय गरिसकेको छैन् । काङ्ग्रेसले राष्ट्रपतिमा चाहना राखेकोले एमाले र माओवादी केन्द्रलाई फकारउन पनि यसले सभामुखमा उम्मेदवारी नदिने अवस्था छ ।

अहिलेको रणनीतिलाई हेर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको र सभामुखमा एमालेलाई मत दिएर राष्ट्रपतिमा काङ्ग्रेसले दावी गर्नसक्ने सम्भावना देखिएको छ । काङ्ग्रेसबाट पार्टी सभापति स्वयम राष्ट्रपतिका आकाङ्क्षी रहेको बताइएको छ ।