काठमाडौं – नवनियुक्त मन्त्रीहरुले शपथग्रहण गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण गराउनुभएको हो । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति भवन शीतलनिवासमा पद तथा गोपनियताको शपथ लिनुभएको हो ।
सत्ता साझेदार दलमध्ये एमालेले सबैभन्दा बढी ८ वटा मन्त्रालय पाएको छ भने माओवादीले ३ मन्त्री र एक राज्यमन्त्री पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन र तीनवटा मन्त्रालय र जनता समाजवादी पार्टीले २ मन्त्रालय पाएको छ ।
जनमत पार्टीले एउटा मन्त्रालय प्राप्त गरेको छ । जनमत पार्टीका अब्दुल खान पनि मन्त्री हुनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले एकएक राज्यमन्त्री पनि पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल शिक्षामन्त्री, डिपी अर्याल श्रम मन्त्री र तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री हुनुभएको छ ।
नेकपा माओवादी केन्द्रबाट रेखा शर्मा सञ्चारमन्त्री, सुदन किराती संस्कृति, पर्यटन मन्त्री, अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, सुशीला श्रीपाली संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री भएका छन् ।
नेकपा एमालेबाट रक्षामन्त्री हरि उप्रेती, परराष्ट्र विमला राई पौडेल, स्वास्थ्य मन्त्रीमा पदम गिरी, महिला बालबालिका मन्त्रीमा भगवती चौधरी, ज्वालाकुमारी साह कृषि मन्त्री, राजेन्द्र राई भूमि व्यवस्था सहकारी मन्त्री, उद्योग मन्त्रीमा दामोदर भण्डारी हुनुभएको छ ।
यसअघि गत पुस ११ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ लिँदा माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई उपप्रधान तथा भौतिक योजना मन्त्री बनाउनुभएको थियो । साथै एमाले उपाध्यक्ष विष्णु पौडेललाई उपप्रधान र अर्थमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री बनाउनुभएको थियो ।