काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । आफूलाई विश्वासको मत दिने दलहरूसँग राष्ट्रपति र सभामुख निर्वाचनको विषयमा छलफल गरेर जाने भन्दै प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक आह्वान गर्नुभएको हो । बैठक आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ ।
विश्वासको मत दिएका दलहरूसँग पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको हो । राजकीय पदहरूको लागि अब हुने निर्वाचनमा सहमति जुटाउन प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक बोलाएको स्रोतले बताएको छ । सभामुख÷उपसभामुखमा काङ्ग्रेसलगायत दलसँग सहमति गर्न बैठक बोलाइएको प्रचण्डको भनाइ छ ।
सत्ता गठबन्धनमा सभामुख र उपसभामुखको उम्मेदवारसँगै मन्त्रालय भागबण्डामा सहमति जुटाइएको छ । प्रतिनिधिसभामा माघ ५ गते सभामुखको निर्वाचन हुँदै छ । माघ २८ गतेसम्म राष्ट्रपतिको पनि निर्वाचन गरिसक्नु पर्नेछ । प्रधानमन्त्री प्रचण्ड आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा हुनुहुन्छ । नवनियुक्त मन्त्रीलाई आजै शपथ खुवाउने शितलनिवासको तयारी छ ।