काठमाडौं — हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

यद्पि तराईका भू–भागका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान मौसमविद्ले गरेका छन् ।

सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागहरूका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले बिहान ६ बजे जारी गरेको सूचनामा उल्लेख छ ।

आज राति पनि दिउँसोको जस्तै मौसमी प्रणाली रहने जनाइएको छ ।