काठमाडौं – सत्ता साझेदार दलहरुबीच मन्त्रालयको भागबण्डा मिलेको छ । सोमबार बेलुकी ६ बजेदेखि राति १० बजेसम्म प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले १७ मन्त्रालयको भागबण्डामा सहमति जुटाएको हो ।
सत्ता साझेदार दलका प्रमुख रहेको संयन्त्रको बैठक बस्नुअघि बिहान प्रधानमन्त्री र संयन्त्रका संयोजक समेत रहनुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पाँच घण्टा लामोे छलफल भएको थियो । दुई शीर्ष नेताबीच भएको छलफलपछि बसेको बैठकले मन्त्रालयको भागबण्डा टुङ्ग्याएको हो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार एमालेले ८ वटा मन्त्रालयसहित दुई राज्यमन्त्री पाउने भएको छ । माओवादी केन्द्रले प्रधानमन्त्रीबाहेक ४ वटा मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । नेकपा माओवादी केन्द्रको भागमा संचार, पर्यटन र रक्षा मन्त्रालय परेको छ । एक नेताले दिएको जानकारी अनुसार माओवादीले पाउने ३ मन्त्रालयमा सहमति भएपछि मन्त्रालय पनि सहमती भएको हो ।
यसैगरी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधान तथा गृहबाहेक शिक्षा र श्रम मन्त्रालय पाएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री सहित सरकारमा रहेको रास्वपाले थप २ मन्त्रालय पाएको हो। सोमबार बसेको सत्ता साझेदार दलको बैठकले श्रम र शिक्षा मन्त्रालय रास्वपालाई दिने निर्णय गरेको हो ।
उता राष्ट्रिय प्रजातान्त्र पार्टीले पनि दुई मन्त्रालय पाएको छ । अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जामन्त्री बन्ने भएका छन्। साथमा सहरी विकास र खेलकुद मन्त्रालय राप्रपाको भागमा परेको छ ।
जसपालाई दुईवटा मन्त्रालय दिन गठबबन्धनमा आबद्ध दल सहमत भएका छन्। उसले आफूलाई तीन मन्त्रालय दिनुपर्ने माग राखेको छ । दलहरुबीच भएको समझदारी अनुसार एमालेले अर्थ, कानुन, परराष्ट्र, भुमिसुधार, कृषि, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय पाउने भएको छ । त्यस्तै एमालेले राष्ट्रपति र सभामुख पाउने सहमति यसअघि नै भइसकेको छ । आज दिउँसो १ बजे नयाँ मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रम राखिएको छ ।