फाइल तस्वीर
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मन्त्रिपरिषद् विस्तार गर्ने विषय टुङ्गिएको छ । एमाले अध्यक्ष ओली निवास बालकोटमा भएको छलफल पछि प्रधानमन्त्री दाहालले अब मन्त्रिपरिषद् विस्तार हुने बताउनु भएको हो ।

ओली निवासमा आज बिहान प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भएको भेटका क्रममा सो सहमति भएको बताइएको छ । प्रधानमन्त्री बालकोटबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई ‘सरकारले पूर्णता पाउनेबारेमा सबै कुरा आजै टुङ्गोमा पुग्छ’ भन्नुभएको थियो ।

सभामुखको निर्वाचनबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा प्रधानमन्त्री दाहालले ‘विश्वासको मत दिने सबै पार्टीका नेताहरुसँग छलफल भइरहेको छ, काङ्ग्रेससँग पनि छलफल हुन्छ, भोलि मङ्गलबार पनि छलफल हुन्छ’ भन्नुभयो ।

प्रधानमन्त्री दाहालले सभामुखको निर्वाचनकाबारेमा पनि भोलिको छलफलमा निष्कर्षमा पुगिने सङ्केतसमेत गर्नुभयो । सत्तारुढ दलका दुई शीष नेताबीच आजको भेटवार्तामा मन्त्रिपरिषद्लाई पूर्णता दिने, राष्ट्रपति र सभामुख निर्वाचन, आगामी रणनीति र शक्ति सन्तुलन मिलाउनेबारेमा छलफल भएको बताइएको छ । सत्ता साझेदार दलबीच मन्त्रालय बाँडफाँटको विषय करिब सहमतिमा पुगेको पनि प्रधानमन्त्रीले सङ्केत गर्नुभएको थियो ।