प्रतिकात्मक तस्वीर

सल्यान — सल्यानमा एक व्यक्तिले मन्दिरमा बलि चढाउन भन्दै आफ्नै भान्जाको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार आइतबार दिउँसो २ बजे बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडाका ३४ वर्षीय डम्बर पुरीले स्थानीय ८ वर्षीय भिजन घर्तीको घाँटी रेटेर हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार डम्बर पुरीले घरको आँगनमा रहेको मन्दिरमा खुर्पाले बालकको घाँटी रेटेको स्थानीयले बताएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार ‘स्थानीयहरुसँग बुझ्दा पुरीको मासिक सन्तुलन ठीक नभएको बताएका छन्, हामीसँगको प्रारम्भिक बयानमा देवीदेवताले मागेको भन्दै बलि दिएको भनेका छन्, उनीबारे अनुसन्धान भइरहेको छ ।’

घटना घटेलगत्तै प्रहरी चौकी बनगाड, इलाका प्रहरी कार्यालय देवस्थल र जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरी टोलीले पुरीलाई पक्राउ गरेको र स्थानीयले भनेअनुसार ऊ मानसिक रोगी हो या होइन मेडिकल रिपोर्टपछि मात्रै थाहा हुने बताएको छ । पुरीले हत्या गरेर बालकको शव मन्दिरभित्रै गाडेका थिए । आज बिदा परेकाले भोलि म्याद थप गरेर निज माथि थप अनुसन्धान प्रक्रिया सुरु गरिने प्रहरीले बताएको छ ।