पोखरा – पोखरामा विमान दुर्घटनामा परी निधन भएका मध्ये ११ जनाको सनाखत भएको छ । पोष्टमार्टमका लागि अस्पताल पुर्याइएका मध्ये ११ जनाको शवको सनाखत भएको हो ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएका ती शवहरु आफन्तले सनाखत गरेका हुन् । आज बिहान काठमाडौंबाट पोखराको लागि उडान भरेको यती एयरलायन्सको एटिआर विमान दुर्घटनामा सेती नदीको खोजमा दुर्घटना हुँदा चालक दलका चार सदस्य र ६८ जना यात्रुगरी सबै ७२ जनाको मृत्यु भएको बताइएको छ ।
सनाखत भएकामा निशान्त आचार्य, सङ्गीता शाही, डा. सुशील श्रेष्ठ, डा. सोना दिनकर, सदाकत अलिमियाँ, लक्ष्मी पौडेल, प्रसिद्धि पौडेल, अरुण पौडेल छन् ।
यस्तैगरी पूर्णकुमार गुरुङ र १० महिने बालक रियान पौडेलको पनि सनाखत भएको छ । विदेशी यात्रु कोरियाली नागरिक यु केयुंगलको समेत सनाखत भएको छ । हाल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ३८ शव पु¥याइएको छ । दुर्घटनास्थलबाट अहिलेसम्म ६८ वटा शव निकालिएको छ ।
एटिआर–७२ उक्त जहाजमा ६८ जना यात्रु र चालक दलका चार जना सवार रहेको यति एयरलाइन्सले जानकारी दिएको छ । ९ एन एएमसी कल साइनको उक्त जहाज काठमाडौंबाट १० बजेर ३३ मिनेटमा उडेको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टावरबाट १० बजेर ५५ मिनेटमा सेती खोंचमा सम्पर्क रहेकोे यति एयरलायन्सले जनाएको छ ।
बाँकी शवको खोजी कार्य जारी छ । दुर्घटनास्थलमा क्रेन लगाएर शव निकालिँदै छ । अस्पताल लगिएका शवहरुको पहिचान गर्न दुर्घटनामा परी निधन भएकाहरुको परिवारहरु पश्चिमाञ्चल अस्पताल परिसर पुगेका छन् । त्यहाँ ठूलो भीड लागेको छ । त्यहाँको दृष्य कारुणिक छ ।
नेपालको आन्तरिक उडानको इतिहासमा पोखरामा आज आइतबार बिहान भएको विमान दुर्घटना अहिलेसम्मकै ठूलो विमान दुर्घटना हो । आन्तरिक विमान दुर्घटनामा ठूलो जहाज र धेरै यात्रुको मृत्यु भएको पहिलो घटना हो । नेपालमा अहिलेसम्म ५० वटा विमान दुर्घटना भैसकेका छन् ।