फाइल तस्वीर
काठमाडौं – मकर सङ्क्रान्ति वा माघीपर्व सबै नेपालीको राष्ट्रिय पर्वको रुपमा विकसित हुँदै गएको छ । सरकारले आज आइतबार माघी पर्वको अवसरमा सार्वजनिक विदासमेत दिएको छ ।
आजदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन भएकाले माघ महिनाको पहिलो दिनलाई मकर सङ्क्रान्ति वा माघीपर्वका रूपमा मनाइने गरिन्छ । यस पर्वको आफ्नै विशेषता र सांस्कृतिक महत्व रहेको छ ।
माघी पर्वको अवसरमा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले एक शुभकामना सन्देश जारी गर्दै नेपालमा मनाइने सबै पर्व राष्ट्रिय पर्व भएको र यस्ता पर्वले नेपालीहरूलाई एउटै सूत्रमा बाँध्ने काम गरेको बताउनुभएको छ । प्रदेश प्रमुख शर्माले ‘भौगोलिक, जातीय र सांस्कृतिक विविधताले भरिपूर्ण हाम्रो देश नेपालमा सबै समुदायले मनाउने चाडपर्वहरू राष्ट्रिय पर्व हुन् । हाम्रा पर्वहरूले हामी नेपालीलाई सहिष्णुतापूर्वक एउटै सूत्रमा बाँध्ने काम गरेको छ’– भन्नुभएको छ ।
यसैगरी कर्णाली प्रदेश प्रमुख तिलक परियालले पनि माघी पर्वलाई हिमाल, पहाड र तराई जोड्ने मौलिक पर्व भएको बताउनुभएको छ । थारू जातिको माघी र मगर जातिको माघे सकरातीका रूपमा मनाइने पर्वको अवसरमा आज शुभकामना व्यक्त गर्दै देश तथा विदेशमा बसेका आमाबुवा, दाजुभाइ, दिदीबहिनीसहित सम्पूर्णमा नेपालीहरूप्रति शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रदेश प्रमुख परियारले माघी सबै भेग, क्षेत्रको सांस्कृतिक र भाइराचार सम्बन्ध कायम गर्ने विशिष्ट पहिचान बोकेको पर्व भएको उल्लेख गर्नुभएको छ । प्रदेश प्रमुखद्वारा जारी शुभकामना सन्देशमा ‘माघी, माघे वा मकर सङ्क्रान्ति दिएर विभिन्न नामले मुलुकभित्र रहेका सबै जाति, भाषा, धर्म र समुदायका मानिसले मनाउने पर्वले हामी सबैलाई एकै मालामा गाँसेको छ । यसले संविधानको स्वीकार्यतालाई बढाउँदै त्यसको कार्यान्वयन जोड दिन हिमाल, पहाड र तराईमा बस्ने सबै समुदायलाई एकाकार हुन सहयोग पु¥याएको छ’ भनि उल्लेख गर्नुभएको छ ।
प्रदेश प्रमुख परियारले बहुजाति, बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषिक सुन्दर देश नेपालमा अनेकतामा एकता र विविधतामा विशिष्टता रहेको जनाउँदै यो पर्वले राष्ट्रिय एकता, स्वाभिमान र सांस्कृतिक सम्बन्धलाई बलियो बनाउँदै मुलुकको विकासमा एकताबद्ध हुन प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।