फाइल तस्वीर
काठमाडौं — पूर्वप्रधानमन्त्री स्व. टङ्कप्रसाद आचार्यको जन्मघरलाई सङ्रग्रहालय बनाइने भएको छ । नेपाल प्रजा परिषद्का संस्थापक अध्यक्षसमेत रहनुभएका आचार्यको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सदरमुकाम परासीस्थित करिब एक सय वर्ष पुरानो जीर्णभएको जन्मघरलाई सङ्रग्रहालय बनाउन लागिएको हो ।

उक्त सङ्रग्रहालय लुम्बिनी प्रदेश सरकारको ५० लाख रुपैयाँको लगानीमा बनाउने योजना अघि बढाइएको छ । टङ्कप्रसाद आचार्य स्मृति प्रतिष्ठानका सदस्य एवम् लुम्बिनी प्रदेश सरकारका पूर्वआर्थिक मामिलामन्त्री वैजनाथ चौधरीले उक्त घर निकै जीर्ण छ, जीर्णोद्वार गर्न असम्भव देखिन्छ । उस्तै नयाँ घर बनाएर सङ्ग्रहालयमा परिणत गर्ने योजना रहेको बताउनु भयो ।

जीर्ण बनेको उक्त घरलाई २०७२ सालमा गएको भूकम्पले थप क्षति गरेपछि स्थानीयले संरक्षण गर्न माग गर्दै आएका थिए । उक्त प्रतिष्ठानका सदस्य चौधरीले ‘तीन दशकदेखि घरको संरक्षणको माग गरिँदै आएको थियो, स्व आचार्यको घर परासीको गौरव भएकाले सङ्ग्रहालयका रुपमा परिणत गर्ने योजना अघि बढाइएको छ’ भन्नुभयो ।

चौधरीले पुरातत्व विभागसँग समन्वय गरेर काम अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले स्व आचार्यको घरको जीर्णोद्धार गर्न जरुरी भएको उल्लेख गर्दै आवश्यक परे थप बजेटका लागि प्रदेश सरकारसँग पहल गर्ने बताउनुभयो । विक्रम सम्बत् २०१२ सालमा देशका प्रधानमन्त्री बन्नुभएका स्व. आचार्य वि.सं. १९६९ सालमा जन्मनु भएको थियो । नेपाल प्रजा परिषद्का संस्थापक अध्यक्षसमेत रहनुभएका पूर्वप्रधानमन्त्री आचार्यको २०४५ सालमा निधन भएको थियो ।