काठमाडौं — बलात्कार अभियोगमा पुर्पक्ष थुनामा रहेका क्रिकेटर सन्दिप लामिछाने रिहा भएका छन् । उनी उच्च अदालत पाटनको बिहीबारको आदेशअनुसार अदालती प्रक्रिया पूरा गरेर रु २० लाख धरौटी बुझाएर रिहा भएका हुन् । सन्दीपको पुनरावेदन निवेदनमा न्यायाधीशहरु धुव्रराज नन्द र रमेश ढकालको इजलासले सर्तसहित थुनामुक्त गर्न आदेश दिएको हो ।
अदालतले सन्दीपलाई विदेश जान रोक लगाएको छ भने काठमाडौँ उपत्यका बाहिर जाँदा पनि प्रशासनको अनुमति लिनु पर्नेछ । साथै उनलाई मुद्दाको विषयमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अभिव्यक्ति दिन पनि अदालतले रोक लगाएको छ । बलात्कार मुद्दामा काठमाडौँ जिल्ला अदालतले सन्दीपलाई पुर्पक्ष थुनामा राख्न आदेश दिएको थियो। उक्त आदेशविरुद्ध उनले उच्च अदालतमा निवेदन दिएका थिए।
काठमाडौँ जिल्ला अदालतले गत १८ असोजमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेसँगै सन्दीपले उच्च अदालत पाटनमा बेरितको आदेश बदर गरिपाउँ भनेर निवेदन दिएका थिए । बिहीबार सुनुवाइ भएसँगै अदालतले सन्दीपको पक्षमा आदेश गरेको हो । त्यसैमा सुनुवाइ गर्दै उच्च अदालतले उनलाई धरौटीमा छाड्ने आदेश गरेको हो । सोही आदेशबमोजिम सन्दीप रिहा भएका हुन् ।