फाइल तस्वीर

काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी एमाले परित्याग गरेर स्वतन्त्र रहनुभएका वामपन्थी नेता घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्ने हुनुभएको छ । एकीकृत समाजवादीसँगको निरन्तरको छलफलपछि उहाँ आज शुक्रबार पार्टी प्रवेश गरेर जिम्मेवारी लिन तयार हुनुभएको हो ।
एकीकृत समाजवादीले आज भुसाललाई स्वागत गर्न शंखमुलस्थित होटल अर्यालयमा दिउँसो २ पार्टी प्रवेश कार्यक्रम राखेको छ । सो कार्यक्रममा पार्टीका शीर्ष नेताहरुको उपस्थिति रहने बताइएको छ ।

केहीदिनअघि एकीकृत समाजवादीलाई पाँच बुँदे पत्र पठाउँदै पार्टी प्रवेशको ढोका खोल्नुभएका नेता भुसाललाई पार्टीमा ल्याउन समाजवादीले महत्त्वपूर्ण र सम्मानजनक जिम्मेवारी दिने जनाउँदै ‘स्वागत पत्र’ पठाएको छ । नेकपा एसले उहाँलाई पार्टीमा ल्याएर महासचिवको जिम्मेवारी दिने तयारी गरेको छ ।