काठमाडौं — उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेकपा एमालेबाट निर्वाचित सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको बताउनुभएको छ । आज बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीहरूसँगको कुराकानीका सन्दर्भमा गृहमन्त्री लामिछानेले फौजदारी मुद्दाका आरोपी सांसद महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिइसकेको बताउनुभएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो विश्वासको मत लिँदा सांसद महतो प्रतिनिधिसभा बैठकमा सहभागी भई प्रधानमन्त्रीको पक्षमा मत दिनुभएको थियो । आज बुधबार पत्रकारहरूले गृहमन्त्री लामिछानेलाई फरार अभियुक्त संसदमै उपस्थित हुँदा पनि किन पक्राउ गर्न सक्नुभएन भनी गरेको प्रश्नको जवाफमा उहाँले भन्नुभयो, ”मैले देखिन । पछि सञ्चार माध्यमबाट थाहा पाएपछि आइजिपीलाई फोन गरेर पक्राउ गर्न निर्देशन दिइसकेको छु ।’
मधेश आन्दोलनका क्रममा असई थमन विकलाई घाइते अवस्थामा एम्बुलेन्सबाट निकालेर हत्या गरेको घटनामा सांसद महतो पनि आरोपित छन् ।