काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले काङ्ग्रेससँग शक्ति बाँडफाँडका विषयमा कुनै सहमति नभएको बताउनुभएको छ । आज बसेको प्रतिनिधिसभामार्फत विश्वासको मत प्राप्त गरेर बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले काङ्ग्रेससँग राष्ट्रपति, उपराष्ट्रपतिका विषयमा सहमति नभएको बताउनुभएको हो ।
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न सोमबार साँझ प्रधानमन्त्री दाहाल धुम्बाराहीस्थित देउवा निवास पुग्नुभएको थियो । यसपछि आज मङ्गलबार बिहान बसेको काङ्ग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको थियो ।
सोही निर्णयअनुसार काङ्ग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको छ । जसकारण प्रधानमन्त्री प्रचण्ड र काङ्ग्रेसबीच शक्ति बाँडफाँडका विषयमा सहमति भएको हो कि भन्ने आशङ्का उब्जिएका बेला प्रधानमन्त्री दाहालले कुनै पनि सहमति नभएको प्रतिक्रिया दिनुभएको हो ।