फाइल तस्वीर
काठमाडौं — नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राष्ट्रिय जनमोर्चा पार्टी (राजमो) ले सरकारलाई विश्वासको मत नदिने बताएका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै नेककिपाका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका सांसद् चित्रबहादुर केहीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत नदिने बताएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मतको प्रस्ताव राख्नुभएको थियो । प्रतिनिधिसभाको आजको बैठकमा नेमकिपाका प्रेम सुवालले प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसक्ने जानकारी गराउनुभयो । नेमकिपाका सांसद सुवालले नेपाल–भारत सीमालाई नियमन गर्न, ढिलासुस्ती र भ्रष्टाचार अन्त्य गर्न, काठमाडौं उपत्यकामा भएको धुलोधुवाँ न्यूनीकरण गर्न र यहाँका सम्पदा र संस्कृतिको जोगाउने कार्यलाई सरकारले प्राथमिकता दिन माग गर्नुभयो ।
संसद् बैठकमा बोल्दै राष्ट्रिय जनमोर्चाका सांसद् चित्रबहादुर केसीले पनि सरकारका प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सुन्दा कर्णप्रिय रहेको तर कार्यान्वयनमा कठिनाइ भएको भन्दै ‘हामी सरकारलाई समर्थन र मत दिन सक्दैनांै, निरन्तर राष्ट्र, राष्ट्रियता र स्वाभिमानको मुद्दालाई उठाइरहन्छौं’ भन्नुभयो ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिंदै हुनुहुन्छ ।