फाइल तस्वीर
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जारी प्रतिनिधिसभा बैठकमा बोल्दै संसद विघटन गर्न पाइन्छ भन्ने मान्यता सत्ता गठबन्धनकै हो भनेर प्रधानमन्त्रीलाई सोध्नु भएको छ । विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै एकीकृत समाजवादीका अध्यक्ष नेपालले यस्तो अभिव्यक्ति दिनु भएको हो ।

कसैको लहडको भरमा प्रतिनिधिसभा विघटन गर्न नपाइने भन्दै एसका अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम उच्चारण नगरी संसद विघटन गर्न पाइन्छ भनेको सुनेको भन्दै ‘यो मान्यता वर्तमान गठबन्धनको हो ? भनि प्रश्न गर्नुभयो । नेता नेपालले ‘यदि यो हो भने खतरनाक सङ्केत हो’ भन्नुभयो ।

प्रतिनिधिसभा बैठकमा ओलीले बेलायत, भारत, जापानका पनि संसद विघटन हुने गरेको र ०५९ सालमा शेरबहादुर देउवाले पनि संसद विघटन गरेको उल्लेख गरेपछि एसका अध्यक्ष नेपालले त्यसको प्रत्युत्तरमा ‘के यो ब्रिनेट हो ? के यो भारत हो ? के यो पुरानो नेपाल हो ? के यो २०५१ सालको सरकार हो ? के यो ०५८ सालको शेरबहादुर देउवाको समयको सरकार हो ? होइन’ भन्नुभयो ।

नेता नेपालले २०७२ सालमा लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउने क्रममा विगतको अनुभवका आधारमा शासकीय प्रणालीमा धेरै सुधार गरेको र विगतका त्रुटिहरु नदोहो¥याउने प्रतिबद्धता गरेको भन्दै ‘प्रधानमन्त्रीले जथाभावी प्रतिनिधिसभा विघटन गर्न पाउँदैन । त्यो काम गरेर प्रतिगमनको कदम चालिएको हो, त्यो अबका दिन नदोहोरियोस्’ भनि चेतावनीयुक्त अभिव्यक्ति प्रकट गर्नुभयो ।

एसका अध्यक्ष नेपालले प्रधानमन्त्रीलाई आफूखुसी संसद विघटन गर्ने अधिकार संविधानले नदिएको र सर्वोच्च अदालतले पनि व्याख्या गरिसकेको भन्दै त्यस्तो गोलचक्करमा नफस्न प्रधानमन्त्रीलाई आग्रह समेत गर्नुभएको थियो ।