काठमाडौं — सङ्घीय संसद् भवनमा प्रतिनिधिसभा बैठक सुरु भएको छ । काठमाडौंको नयाँ बानेश्वरस्थित संसद् भवनमा आज बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत लिँदै हुनुहुन्छ ।
नेकपा एमालेसहित सात दलीय गठबन्धनको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । प्रचण्ड प्रतिनिधिसभाका १६९ जना सांसदहरुको समर्थनमा प्रधानमन्त्री बन्नु भएको थियो ।
नेपालको संविधानको धारा ७६ को उपधारा (४) को उपधारा (२) बमोजिम नियुक्त प्रधानमन्त्रीले त्यसरी नियुक्त भएको मितिले ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान छ ।
माओवादी अध्यक्ष प्रचण्ड नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी तथा केही स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त हुनुभएको थियो ।
प्रधानमन्त्री प्रचण्डले सिङ्गो प्रतिनिधि सभाको समर्थन आफूले पाउने विश्वास व्यक्त गर्नुभएको छ । सोमबारको प्रतिनिधि सभा बैठकपछि बाहिरिने क्रममा उहाँले सञ्चारकर्मीसँग विश्वासको मत पाउनेमा आफू विश्वस्त रहेको बताउनुभएको थियो । प्रधानमन्त्री प्रचण्डलाई समर्थन गर्ने सम्पूर्ण दलहरूले विश्वासको मत दिने निर्णय गरेका छन् । प्रतिनिधि सभामा सरकारलाई समर्थन गरेका एमालेका ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपाका १२, जनमत पार्टीका छ, नागरिक उन्मुक्ति पार्टीका चार सांसद छन् । तीन स्वतन्त्र सांसदले पनि सरकारलाई समर्थन गरेको छन् ।
यसैबीच संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको आज बसेको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी र एकीकृत समाजवादीले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेका छन् । प्रतिनिधिसभामा नेपाली काङ्ग्रेसका ८९ जना, नेकपा (एकीकृत समाजवादी)का १० जना, लोकतान्त्रिक समाजवादीका चार, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका एक÷एक सांसद छन् ।