फाइल तस्वीर

काठमाडौं – नेकपा एमाले त्याग्नुभएका नेता घनश्याम भुसाल महत्त्वपूर्ण जिम्मेवारीसहित नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने हुनुभएको छ ।एमालेबाट अलगिएपछि पछिल्लो समय आफूलाई वाम एकताको पक्षधर भन्न रुचाउने भुसाललाई केही समययता एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित केही नेताले पार्टी प्रवेश गर्नका लागि आह्वान गरिरहनुभएको थियो ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एमाले त्यागेर रुपन्देही– १ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएका भुसाल महत्त्वपूर्ण जिम्मेवारीसहित एकीकृत समाजवादीमा प्रवेश गर्न लाग्नुभएको र एक/दुई दिनमा भूसाललाई पार्टी प्रवेश गराउनेगरी तयारी भएको पार्टी उपमहासचिव विजय पौडेलले जानकारी दिनुभयो ।

स्रोतका अनुसार उहाँ अबको केही दिनमा औपचारिक रूपमा पार्टी प्रवेश गर्दै हुनुहुन्छ । पार्टी प्रवेशको छलफलका लागि भुसालले गत सोमबार एक ‘कम्युनिस्ट आन्दोलनको पुनर्गठन, रुपान्तरण तथा एकीकरणका लागि प्रस्ताव’ नामक दस्तावेज पार्टीमा बुझाउनुभएको बताइएको छ । नेता भुसालले दस्तावेजमार्फत समाजवादीको प्रस्तावमा आफू सकारात्मक रहेको बताउनुभएको छ । तर, उहाँले त्यसका लागि पार्टीको तत्कालिन र दीर्घकालिन कार्यनीति र सिद्धान्तलाई परिस्कृत गर्नुपर्ने शर्त राख्नुभएको छ ।
उहाँको शर्तमाथि समाजवादी पार्टीमा छलफल सकारात्मक भइरहेको र पार्टीका केही बैठकमा सहभागी गराएर भूसाललाई महासचिव बनाउने तयारी गरिएको बताइएको छ ।