हेटौंडा — बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेश प्रमुखको कार्यालयमा आज बिहान ९ः५० बजे जमकट्टेललाई शपथ खुवाउनुभएको हो ।
मुख्यमन्त्रीले शपथ लिए लगत्तै नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले आर्थिक मामिला तथा योजना मन्त्री र राप्रपा संसदीय दलका नेता उद्धव थापाले विना विभागीय मन्त्रीको रूपमा शपथ लिनुभएको छ ।
मन्त्रालय बाँडफाँडको विषयमा सत्ता साझेदार दलहरूकबीचमा छलफल गरेर टुङ्ग्याइने मुख्यमन्त्री जमकट्टेलले बताउनुभयो । उहाँले बागमती प्रदेशमा बढीमा ११ वटा मन्त्रालय बनाइने बताउनुभएको छ । पछिल्लो मन्त्रिपरिषदमा बागमती प्रदेशमा १४ मन्त्रालय थिए । ४ राज्यमन्त्रीसहित १८ मन्त्री भएपछि प्रदेश सरकारको आलोचना हुँदै आएको थियो ।