काठमाडौं – नेपाली काङ्ग्रेसको संसदीय दलको बैठक बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निर्णय गर्न आज बिहान बैठक बस्न लागेको हो । त्यसअघि काङ्ग्रेस पदाधिकारीहरुको बैठक बस्दैछ ।
२७५ सदस्यीय प्रतिनिधि सभामा १६९ सांसदले प्रचण्ड सरकारलाई विश्वासको मत दिने निश्चित भए पनि प्रमुख प्रतिपक्ष भनिएको काङ्ग्रेस विश्वासको मतबारे अनिर्णित छ ।
प्रधानमन्त्री प्रचण्डले हिजो सोमबार मात्र काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न धुम्बाराही पुगेर विश्वासको मत माग्दा देउवाले सकारात्मक प्रतिक्रिया दिन्भएको थियो । देउवाले विश्वासको मत दिने बचन दिनुभएता पनि आधिकारिक निर्णय भइसकेको छैन । त्यसका लागि देउवाले आज बिहान संसदीय दलको बैठक बोलाउनुभएको हो । काङ्ग्रेसभित्र प्रचण्ड सरकारलाई विश्वासको मत दिनुपर्ने पक्षमा संस्थापन पक्ष छ । तर कोइराला समूहले भने प्रतिपक्षमा बस्नुपर्ने अडान राख्दै आएको छ ।