फाइल तस्वीर
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिनुहुँदैछ । पुष १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रचण्डले आज मङ्गलबार विश्वासको मत लिन लाग्नु भएको हो ।
प्रधानमन्त्री प्रचण्डले पुष १८ गते विश्वासको मत लिनका लागि व्यवस्था गर्न संसद सचिवालायलाई जानकारी गराउँदै निवेदन दिनुभएको थियो । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमालेसहित सात दलीय गठबन्धनको समर्थनमा पुस १० गते प्रधानमन्त्री पदमा नियुक्त भइ ११ गते शपथ ग्रहण गर्नुभएको थियो ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीसहित केही स्वतन्त्र सांसदरुको समर्थन गर्नुभएको थियो ।
प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत ल्याउनुपर्ने संवैधानिक प्रावधान रहेको छ । प्रधानमन्त्रीलाई विश्वासको मत लिन प्रतिनिधिसभाका कुल सदस्यमध्ये १३८ जना सांसद्को समर्थन लिनुपर्ने हुन्छ ।
हिजो बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा प्रधानमन्त्रीले सबै राजनीतिक दलहरूसँग विश्वासको मत दिन अनुरोध गर्नुभएको थियो । प्रधानमन्त्री प्रचण्डले हिजो साँझ प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई भेटी आफुलाई विश्वासको मत दिन आग्रह गर्नुभएको थियो ।
प्रधानमन्त्रीले आज प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्नुहुनेछ । सरकारले विश्वासको मत प्राप्त गरेपछि सरकारको कामकारवाहीले गतिलिने अपेक्षा गरिएको छ ।