हेटौंडा — बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भोलि मङ्गलबार पद तथा गोपनीयताको शपथ लिने हुनुभएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले भोलि बिहान ९ः३० बजे मुख्यमन्त्री जम्कट्टेललाई शपथ दिलाउने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालय स्रोतले जनाएको छ ।
मुख्यमन्त्री जम्कट्टेलले भोलि नै तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने जनाइएको छ । स्रोतका अनुसार प्रदेश सरकारमा तत्काल राप्रपा र एमालेबाट एक–एक जनाको प्रतिनिधित्व हुने भएको छ । यद्यपि उहाँहरुलाई मन्त्रिपरिषद्मा विभागीय जिम्मेवारी भने तत्काल नदिइ सबै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री आफैले सम्हाल्ने स्रोतले बताएको छ ।

प्रदेश प्रमुखको कार्यालय स्रोतले जनाए अनुसार, ‘सुरुमा राप्रपाबाट एक र एमालेबाट एक मन्त्री बनाउने तयारी भएको छ । उहाँहरुलाई दिइने जिम्मेवारी र बाँकी मन्त्री नियुक्तिको काम भने सत्तारुढ गठबन्धनबीच भागबण्डा टुङ्गिएपछि मात्र हुनेछ ।’

एमालेले पहिलो चरणमा सरकारमा जगन्नाथ थपलियालाई पठाउने तयारी गरेको छ । यद्यपि, राप्रपाबाट भने कसलाई सामेल गर्ने भन्नेबारे टुङ्गो लाग्न बाँकी रहेको बताइएको छ ।