काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको छ । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो बैठक केहीबेर अघिमात्रै सुरु भएको हो ।

प्रतिनिधिसभाको सभामुख चयन नहुँदासम्म संसदका ज्येष्ठ सदस्य माननीय पशुपति शमशेर जबराको अध्यक्षतामा आज पहिलो बैठक सञ्चालन भएको छ । बैठक बानेश्वरस्थित सङ्घीय संसद् भवनमा चालु छ । बैठकको प्रारम्भमा ज्येष्ठ सदस्य जबराले सङ्घीय संसद्को अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुभयो । साथै उहाँले प्रधानमन्त्रीको नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी राष्ट्रपति कार्यालयको पत्रको व्यहोरासमेत पढेर सुनाउनुभयो ।

प्रतिनिधिसभामा नेपाली काङ्ग्रेसका ८९ जना, नेकपा एमालेका ७९ जना, माओवादी केन्द्रका ३२ जना, राष्ट्रिय स्वतन्त्र पार्टीका २० जना, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४ जना, जनता समाजवादी पार्टी नेपालका १२ जना, नेकपा एकीकृत समाजवादीका १० जना, जनमत पार्टीका छ जना, लोकतान्त्रिक समाजवादी पार्टीका चार जना, नागरिक उन्मुक्ति पार्टीका तीन जना, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका एक÷एक तथा स्वतन्त्र पाँच सांसदको उपस्थिति रहेको छ ।