काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । आज आइतबार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका एक नेताले प्रतिनिधिसभाको पहिलो र विश्वासको मत लिने दिनको बैठकको बारेमा पार्टीका सांसदहरूलाई जानकारी गराएको बताउनुभएको हो ।

ती नेताले बताए अनुसार प्रतिनिधिसभाको पहिलो बैठक र विश्वासको मतका बारेमा आजको बैठकमा छलफल केन्द्रित भएको हो । पार्टीका एक नेता बुद्धिमान तामाङले भन्नुभयो— ‘खास गरेर हाम्रो संसदीय दलको बैठक संसदीय दलका नेता पार्टी अध्यक्षको नेतृत्वमा बस्यो । सो बैठकमा अहिलेको कार्यव्यवस्था समितिमा रहनुभएका हाम्रा उपाध्यक्ष ध्रुव प्रधानजीले भोलि र पर्सिको कार्यक्रमहरु बारेमा जानकारी गराउनुभयो । त्यही विषयमा छलफल भयो । सरकार बनाउन हामीले पहल गरेको नेतालाई नै विश्वासको मत दिन्छौँ । तर, निर्णय भने भइसकेको छैन ।’

नेता तामाङले आफूले सरकार बनाउनका लागि पहल गरेका नेतालाई विश्वासको मत दिने भएपनि पार्टीबाट औपचारिक निर्णय भने भइ नसकेको जानकारी गराउनुभयो ।