काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले सात दलीय गठबन्धन फुटाउन नेपाली काङ्ग्रेसले गरेको प्रयासप्रति कटाक्ष गर्नुभएको छ । आज आइतवार धुलिखेलमा आयोजित पार्टीका जनसङ्गठनहरुको दुई दिने तालिम कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले तत्कालीन पाँच दलीय गठबन्धनको प्रमुख दल नेपाली काङ्ग्रेसको अहिलेको प्रयास व्यर्थै खेर जाने बताउनुभएको हो ।
कार्यक्रम बोल्दै ओलीले भन्नुभयो— ’अहिलेको गठबन्धनका कतिपय नेतालाई प्रधानमन्त्री दिउँला भनेर फकाइरहेका रहे छन् । अहिलेको सरकार संविधानको धारा ७६ (२) अनुसार बनेको छ । यो सरकारले पुस २६ मा बहुमत ल्याउन सकेन भने नयाँ सरकार निर्माण संविधानको धारा ७६ उपधारा ३ मा जान्छ ।’
उहाँले काङ्ग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्री प्रस्ताव गर्दा संवैधानिक व्यवस्था भुलेर जिल्लिन पुगेको पनि उल्लेख गर्नुभयो । ’जसले गठबन्धनका साथीहरुलाई प्रधानमन्त्रीको प्रस्ताव गरे, उनीहरुले संविधानको कुरै भुलेछन्’, उहाँले भन्नुभयो, ’तर प्रधानमन्त्री प्रस्ताव गर्नेलाई ’तपाईंले मलाई कुन धाराअन्तर्गत प्रधानमन्त्री बनाउनुहुन्छ ?’ भन्दा ए त्यो चाहिँ मिलेनछ भनेछन् ।’
गठबन्धन फुटाउन प्रधानमन्त्री दिने आश्वासन फेल खाएपछि काङ्ग्रेसले नयाँ कार्ड खेलिरहेको टिप्पणी गर्नुभयो । ’प्रधानमन्त्री दिने कुरा संविधानअनुसार पनि नमिलेपछि फेरि उपप्रधानमन्त्री र सभामुख दिउँला भनेर फकाएछन् ।’ नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष ओलीले भन्नुभयो–’प्रधानमन्त्रीले २६ गते विश्वासको मत पाउँछन् । कसैले ढाल्न नखोजे हुन्छ, यो एमालेले बनाएको सरकार हो ।’