गुल्मी – गुल्मीको रेसुङ्गा नगरपालिकास्थित सिमिचौरमा निर्माण सम्पन्न रेसुङ्गा विमानस्थलमा आज डेमो उडान हुँदैछ । रेसुङ्गा नगरपालिकामा रहेको सो विमानस्थलमा आज तारा एयरलाइन्सको जहाजले परीक्षण उडान गर्ने भएको हो ।
यस अवसरमा ५२० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग रहेको यस विमानस्थलको परीक्षण उडान गरिने भएकाले आज रेसुङ्गा नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले विज्ञप्ति निकालेर पुस २४ गते नगरपालिकाको समन्वयमा रेसुङ्गा विमानस्थलमा परीक्षण उडान हुने भएकोले नगरपालिकाका सम्पूर्ण सेवा बन्द हुने बतानुभएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ट्वीनअटर जहाज गुल्मी प्रस्थान गर्नेछ । एयरलाइन्स कम्पनीका अनुसार तारा एयरले आज आइतबार बिहान १०ः३० मा डेमो उडान गर्नेछ ।
जहाजमा गुल्मी जिल्लाबाट निर्वाचित सांसद चन्द्र भण्डारी, गोकर्ण विष्ट लगायत नेताहरू सवार हुनुहुनेछ । साथै एमाले उपमहासचिव प्रदीप ज्ञवाली, नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री समेत जहाजमा रहने हुनुभएको छ । तारा एयर र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरु समेत जहाजमा रहने हुनुभएको छ ।