काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सांसदहरुलाई पुस २६ गते सरकारलाई विश्वासको मत दिन तोकिएको समयमै संसदमा उपस्थित हुन निर्देशन दिनुभएको छ । कम्युनिस्ट नेतृत्वको नयाँ सरकार गठन भएकोमा छिमेकी देश भारत सन्तुष्ट नभएकोतर्फ इङ्कित गर्दै नेपालीहरुको बलजफ्तीमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बनाएको र त्यसलाई विश्वासको मत दिएर सफल बनाउनका लागि पार्टीका सांसदहरुले २६ गते एक मिनेट पनि ढिलाई नगरी संसदमा उपस्थित हुन निर्देशन दिनुभएको हो ।

काठमाडौंको नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अहिले पनि यो सरकार फेरफार गर्नुपर्छ, यसरी सरकार बनाउन कहाँ पाइन्छ भनेर सरकार ढाल्न लागिरहेको टिप्पणी गर्नुभयो । उहाँले आज शनिबारबाट काठमाडौंमा सुरु भएको पार्टीका सांसदहरुको प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले नेपालीहरुको बलजफ्तीबाट वर्तमान सरकार बनेको उल्लेख गर्दै त्यसलाई सफल र प्रभावकारी बनाउन आफूले चाहेको पनि पटकपटक दोहो¥याउनु भयो । अध्यक्ष ओलीले यो सरकार ढाल्नका लागि नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले अधिकतम प्रयास गरिरहेको उल्लेख गर्दै सफल हुन नदिने दृढता समेत व्यक्त गर्नुभयो । उहाँले वर्तमान सरकारले सुशासन र मुलुकको विकासका निम्ति दृढतापूर्वक अघि बढोस भन्ने आफ्नो पार्टीको चाहना रहेको स्पष्ट पार्नु भयो ।

ओलीले वर्तमान सरकारले विश्वासको मत नपाए प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलका हैसियतले काङ्ग्रेसले सरकार बनाउने भएकाले त्यसतर्फ सचेत रहनुपर्ने पनि बताउनुभयो । उहाँले भन्नु भयो, ‘पहिलो कुरा त हामी २६ गते प्रधानमन्त्री माथि प्रतिनिधिसभा बहुमतको विश्वास छ भन्ने कुरा हामीले देखाउनु छ । २६ गते सबै साथीहरु कुनै बट, इफ हँुँदैन । त्यो एकदमै बुझ्न जरुरी छ । हरेक साथीहरु भनेको समयमा संसदमा कोहीकोही दिन यस्ता हुन्छन, जहाँ एक मिनेट ढिला गर्न हुन्न । २५ गते पहिलो दिन, २६ गते विश्वासको मत दिने यस्ता दिनहरुमा एक मिनेट पनि ढिला हुनुहुन्न । समय भित्रै आउने र विश्वासको मत दिने काम गर्नु पर्छ । मैले अघि नै भने –यो नेपालीहरुले बलजफ्ती बनाएको सरकार हो ।

यो सरकारलाई हामी सफल सरकार बनाउन चाहन्छौं । यो सरकारलाई हामी उपयुक्त ढङ्गले गाईड गर्न चाहन्छौं । यसले सही नीति लेओस् । यस सरकारले भ्रष्टाचार नगरोस् । भ्रष्टाचार नसहोस् । यसले सुशासन र विकासका निम्ति उचित र आवश्यक कदमहरु दृढताका साथ चालोस् । सक्रियतापूर्वक अघि बढोस् । हामी त्यो चाहन्छौं । त्यसकारण पर्सी २६ गते प्रतिनिधिसभाका सदस्य साथीहरु प्रतिनिधिसभामा समयमा हाजिर हुने र मतदान गर्ने प्रतिनिधिसभामा प्रधानमन्त्री माथि विश्वास छ भन्ने कुरालाई बहुमतले पुष्टि गर्नु पर्दछ । यस काममा हामी केन्द्रित छौं ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले छिमेकी देश भारतलाई पनि कम्युनिस्ट नेतृत्वको नयाँ सरकार गठनमा हस्तक्षेप नगर्न भन्नुभएको छ । उहाँले भन्नुभयो, ‘हामी हाम्रो राष्ट्र आफ्नो ढङ्गले चलाउछौं तपाईहरूले सहयोग गर्नसक्नु हुन्छ गर्नुहोस् तर आन्तरिक मामिलामा हात हाल्ने आँट नगर्नुहोस् ।’ उहाँले नयाँ सरकार गठनपछि पत्रपत्रिका हेरिसक्नु नभएको, कूटनीतिक चलखेल बुझिनसक्नु भएको पनि बताउनुभयो । यसप्रकारका गतिविधि बन्द गर्न र मित्रको हिसाबले चल्न समेत आग्रह गर्नुभएको छ ।