काठमाडौं — सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्न गठित मस्यौदा कार्यदलले साझा कार्यक्रमलाई अन्तिम रूप दिएको छ । आज अर्थमन्त्रालयमा बसेको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको कार्यदलको बैठकले न्यूनतम साझा कार्यक्रममलाई पूर्णता दिएको हो ।


कार्यदलले उक्त मस्यौदा प्रतिवेदन भोलि शीर्ष नेताहरुलाई बुझाउने र शीर्ष तहबाट पारित भएपछि उक्त कार्यक्रम भोलि नै सार्वजनिक हुने तयारी छ । सरकारले गठबन्धनमा सहभागी दलबीच सहमतिका आधारमा साझा कार्यक्रममा आर्थिक समृद्धि र विकासलाई जोड दिएको छ ।

साझा कार्यक्रम सरकारका लक्ष्यहरू किटान गर्ने र अघिल्लो सरकारले असन्तुलित बनाएको विदेश नीतिलाई सन्तुलित बनाउँदै छिमेकी तथा विकास साझेदारहरूको विश्वास आर्जन गर्न केन्द्रित हुने बताइएको छ ।


यही पुस १४ गते गठित कार्यदलमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट सहभागिता छ । उपप्रधान एवं अर्थमन्त्री पौडेल नेतृत्वको कार्यदलमा माओवादीबाट वर्षमान पुन, रास्वपाबाट मुकुल ढकाल र राप्रपाबाट धवलशमशेर राणा र जसपाबाट रकम चेम्जोङ हुनुहुन्छ ।