फाइल तस्वीर
काठमाडौं – सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्न उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित मस्यौदा कार्यदलको बैठक आज बस्दै छ । अर्थ मन्त्रालयमा हिजो बिहीबार बसेको कार्यदलको बैठकमा सामान्य छलफल भए पनि सहमति जुट्न नसकेपछि आज बैठक बस्न लागेको हो ।
अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएका उपप्रधानमन्त्री पौडेल संयोजकत्वको कार्यदलको बैठक अहिले सुरुहुन लागेको छ । नेकपा माओवादी केन्द्रबाट कार्यदलको सदस्यमा रहनुभएका नेता वर्षमान पुन अस्वस्थताका कारण अनुपस्थित भएपछि हिजो बिहीबारको बैठकले न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पार्न नसक्दा बैठक आज बस्न लागेको हो । कार्यदलका संयोजक तथा उपप्रधानमन्त्री पौडेलका अनुसार साझा कार्यक्रमको ड्राफ्ट तयार भइसकेको र अहिले बस्ने बैठकले मस्यौदालाई अन्तिम रुप दिने भएको छ ।
कार्यदलको मस्यौदा ‘ड्राफ्ट’ सरकारमा सहभागी हुने सबै राजनीतिक दलको सुझाव समेटेर तयार गरिएको छ । सत्ता साझेदार दलहरूको सुझावलाई आधार मानी मस्यौदालाई अन्तिम रुप दिइने बताइएको छ । कार्यदलमा सत्ता साझेदार दलका १–१ जना सदस्य रहेका छन् । तर सत्ता गठबन्धनमा सात दल भएता पनि सरकारको समर्थन गरेको जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको तर्फबाट उक्त कार्यदलमा कुनै पनि प्रतिनिधित्व छैन ।