काठमाडौं — नेपाली उत्पादनको बजारीकरण गर्ने र आर्थिक समृद्धिको आधार तयार पार्ने उद्देश्यसहित भृकुटीमण्डपमा १७औँ अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक मेला सुरु भएको छ । आजदेखि तीन दिनसम्म सञ्चालन हुने मेलाको राष्ट्रपति विद्यादेवी भण्डारीले आज उद्घाटन गर्नुभएको हो ।

जुत्ता उत्पादक सङ्घ नेपालले आयोजना गरेको मेलामा कुल एक सय ७० स्टल छन् । स्वदेशी तथा विदेशी उत्पादनका जुत्ता प्रदर्शनीमा राखिएको छ । मेला संयोजक सुरज बञ्जाडेका अनुसार मेलामा ४० विदेशी कम्पनी पनि रहनेछन् ।

मेला उद्घाटन कार्यक्रममा बोल्दै जुत्ता उत्पादक सङ्घका अध्यक्ष नानीराज घिमिरेले जुत्ताको चोरी पैठारी रोक्न नसकेकोमा गुनासो गर्नुभयो । उहाँले बजार पनि नपाउने र ब्याजदर बढ्दा अन्तर्राष्ट्रिय बजारमा नेपाली जुत्ताले प्रतिस्पर्धा गर्न नसकेको दुखेसो पोख्नुभयो । नेपाली बजारमा नेपाली जुत्ताको बजार हिस्सा ५० देखि ५५ प्रतिशत मात्रै रहेकोमा ७५ प्रतिशत पुर्याउने लक्ष्य राखिएको सङ्घले जनाएको छ ।