काठमाडौं – बालिका जवर्जस्ती करणीको मुद्दामा पुर्पक्षको लागि केन्द्रीय कारागार सुन्धारामा रहेका राष्ट्रिय टिमका पूर्व कप्तान सन्दीप लामिछानेको पुनरावेदन पेशी आज बिहीबार पनि स्थगित भएको छ । उच्च अदालत पाटनमा न्यायधीश राज्यलक्ष्मी बज्राचार्य र नरिश्विर भण्डारीको इजलासमा परेको पेशी निवेदकका वकिलका तर्फबाट स्थगित गरिएको हो ।

उनको आज ४ नम्बरमा पेसीको सूची रहेको थियो । यसअघि दुई पटक पेसीका लागि तय भए पनि सन्दीपको सुनुवाइ हुन सकेको थिएन । यसअघि ७ पुसमा सन्दीपका कानुन व्यवसायीले ‘बार डे’ परेको भन्दै पेसी स्थगित गरेका थिए भने १४ पुसमा पेसी हेर्न नभ्याउनेमा परेको थियो ।

जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाएपछि त्यसविरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन दिएका थिए । पुनरावेदनले जिल्लाको आदेश सदर भएमा उनी जेलमा नै बस्नु पर्नेछ भने अदालतले उनको पक्षमा फैसला गरेमा उनी रिहा भएर अन्तिम मुद्दाका लागि लड्नु पर्ने छ । यसअघि जिल्ला अदालत काठमाडौँले पीडित किशोरीको उमेरको लागि अस्पतालबाट जन्मदर्ताको प्रमाणपत्र मगाउन आदेश दिएको थियो ।