काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिनुभएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रालय समेत आफैसगँ राख्नुभएको प्रधानमन्त्री दाहालले वाणिज्य तथा आपूर्ति सचिवलाई पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिनुभएको हो ।

स्रोतले भन्यो, ‘प्रधानमन्त्रीले आज मन्त्रिपरिषद् बैठकलगत्तै वाणिज्य तथा आपूर्तिसचिवलाई मन्त्रालयमै बोलाएर पेट्रोलियम पदार्थको उच्च मूल्यका कारण उपभोक्तालाई मार परेकाले घटाउन निर्देशन दिनुभएको छ । आजै आयल निगमले यसबारे केही निर्णय गर्ला ।’

पछिल्लो समय नेपाल आयल निगमलाई खाना पकाउने एलपी ग्यासबाहेक सबै पेट्रोलियम पदार्थमा नाफा छ । अन्तर्राष्ट्रियस्तरमा मूल्यमा गिरावट आएको कारण निगमलाई मासिक एक अर्बभन्दा बढी नाफा रहेको छ । हवाइ इन्धन र मट्टितेलमा कानुनभन्दा बढी नाफा समेत निगमले लिइरहेको छ । यो व्यवस्थामा प्रधानमन्त्री दाहालले निगमको बोर्ड प्रमुख समेत रहनुभएका सचिवलाई निर्देशन दिनुभएको हो ।