काठमाडौं — विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाएका र अस्पतालमा भर्ना भएर उपचारत व्यक्तिको विश्वसनीय संख्या सार्वजनिक गर्न आग्रह गरेको छ । डब्ल्यूएचओका प्रमुख टेड्रोस एदनोम गेब्रियससले मिडिया ब्रिफिङको क्रममा चीनलाई कोरोना सङ्क्रमणसँग सम्बन्धित तथ्याङ्क यथाशीघ्र सार्वजनिक गर्न आग्रह गर्नुभएको हो ।
उहाँले भन्नुभएको छ, ‘अस्पतालमा भर्ना भएका र मृत्यु भएकाको विश्वसनीय तथ्याङ्क छिटो र नियमित रुपमा सार्वजनिक गर्न हामीले चीनलाई भनेका छौं । साथै रियल टाइम भाइरल सिक्वेन्सिङको जानकारी पनि धेरै भन्दा धेरै जानकारी गराउन पनि भनेका छौं ।’
चीनमा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण तीव्र रुपमा फैलिरहेको समाचार सार्वजनिक हुँदै आएको छ । तर चीनले भन्ने गरेको भन्दा धेरै संख्यामा सङ्क्रमित र मृतक हुनसक्ने अनुमान गरिएको छ । डब्ल्यूएचओका प्रमुखले कोरोनाको अवस्थाबारे चीनसँग उच्चस्तरीय बैठक गरेको जानकारी दिंदै चीनको अवस्थाबाट आफूहरु चिन्तित रहेको बताउनुभएको छ ।
उहाँले आफूहरुसँग भएको तथ्याङ्क अनुसार कोरोना सङ्क्रमणबाट विश्वभर हरेक हप्ता करिब १० हजार जनाको मृत्यु भइरहेको छ । तर वास्तविक संख्या योभन्दा बढी हुन सक्ने उहाँको भनाइ छ ।