काठमाडौँ – सत्ता साझेदार दलले सरकारको न्यूनतम साझा कार्यक्रमलाई आज टुङ्ग्याउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकमा विशेष गरेर आम नागरिकसँग सरोकार राख्ने, जनताको मन छुनसक्ने, भ्रष्टाचार नियन्त्रण, जनजीविकाका सवाल तथा अन्य नीतिगत सवालमा केन्द्रित रहेर सरकारको न्यूनतम कार्यक्रम ल्याउने निर्णय गरेको हो ।

बैठकमा भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहलाई चुस्त बनाउने विषयलाई प्राथमिकता दिएर न्यूनमत साझा कार्यक्रमलाई आज बिहीबारसम्म अन्तिम रुप दिने निर्णय भएको थियो गृहमन्त्री रवि लामिछानेले सरकारको न्यूनतम कार्यक्रम ल्याएर सरकारले संसद्बाट विश्वासको मत पाएपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिनुभयो ।

बैठकमा सङ्घीय सरकारलाई पूर्णता दिने र प्रदेश सरकार गठनलगायत मुलुकको समसामयिक राजनीतिक र सामाजिक विषयमा समेत छलफल भएको थियो । गृहमन्त्रीले भन्नुभयो, ‘हामीले निर्देशन मात्रै दिएका छैनौँ, त्योसँगै योजना पनि बनाएका छौँ, त्यसको अपडेट पनि छ, निर्देशनसँगै विज्ञ टोलीसँग छलफल पनि गरिरहेका छौँ, तत्कालीन र दीर्घकालीन समाधान खोज्नेबारे पनि छलफल भइरहेको छ ।’

बैठकबारे पत्रकारलाई जानकारी दिँदै गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले भन्नुभयो— ‘बाहिर बाहिर मात्रै मन्त्रालय फुटाउने, बढाउने भन्ने सवाल आएको छ, तर त्यसबारेमा बैठकमा कहीँकतै पनि छलफल भएको छैन, यो कहाँबाट आयो हामीलाई थाहा छैन, त्यसतर्फ जाने कुनै तयारी पनि छैन ।’