काठमाडौं —रोल्पा प्रदेशसभा (२) बाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य दीपेन्द्रकुमार पुन मगर नेकपा (माओवादी केन्द्र)मा फर्किनुभएको छ । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा उहाँ माओवादी केन्द्रका पोलिटब्युरो सदस्य र रोल्पा जिल्ला इन्चार्जबाट राजीनामा दिएर प्रदेशको उम्मेदवार बन्नुभएको थियो ।
उहाँ लुम्बिनी प्रदेशसभामा भारी मतले विजयी हुनुभएको थियो । मगरले पार्टी छाडेकामा आत्म आलोचित हुँदै पुनः माओवादी केन्द्रमा रहेर काम गर्ने पत्र पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुझाउनुभएको छ । पार्टी छाडेर निर्वाचनमा उम्मेदवार बनेपछि उहाँलाई माओवादीले निष्कासन गरेको थियो ।
मगरलाई आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र रोल्पाका प्रतिनिधिसभा सदस्य एवम् माओवादी नेता वर्षमान पुनले पार्टीमा स्वागत गर्नुभयो ।