फाइल तस्वीर


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बाहिर सार्वजनिक रुपमा नेतृत्वको आलोचना गर्ने काम तत्काल बन्द गर्न निर्देशन दिनुभएको छ । अध्यक्ष नेपालले आज मङ्गलबार पार्टी कार्यालयमा बसेको पोलिटब्युरो बैठकमा नेताहरुलाई यस्तो निर्देशन दिनुभएको हो ।

बैठकमा बोल्दै अध्यक्ष नेपालले ‘आफुलाई जे जस्ता कुरा अभिव्यक्त गर्न मन लागेको छ, ति सबै पार्टी कमिटीमा राख्न’ निर्देशन दिंदै सस्तो लोकपृयताका लागि सोसल मिडियामा नेतृत्व र पार्टीप्रति नकारात्मक टिकाटिप्पणी गर्ने काम तत्काल बन्द गर्न आग्रह गर्नुभयो । अध्यक्ष नेपालले ‘जिम्मेवार नेताहरुले आफूलाई लागेको कुरा मिडियामा गएर बोल्ने, सोसल मिडियामा लेखेर सार्वजनिक गर्ने काम पार्टी अनुशासन विपरित हुने भन्दै यस्तो तरिका अपनाउँदा न त्यो क्रान्तिकारी पार्टी बन्छ, न त्यो अनुशासित पार्टी बन्छ’– भन्नुभयो ।

अध्यक्ष नेपालले जिम्मेवार नेताले कसैलाई गालि गर्ने, बदख्वाइ गर्ने र कसैलाई अनावश्यक प्रसंशा गर्नुको कुनै अर्थ नहुने भन्दै पार्टी हितको निम्ति सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभएको थियो ।