कञ्चनपुर — कञ्चनपुरको पर्यटकीयस्थल बेदकोट ताल पक्की सडक सञ्जालसँग जोडिएको छ । बेदकोट नगरपालिका–३ स्थित चुरे फेदीमा रहेको तालसम्म कालोपत्र सडक बिस्तार भएको छ ।

पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पर्ने दैजी बजारदेखि बेदकोट तालसम्म कालोपत्र सडक विस्तार भएको वडा नं ३ का अध्यक्ष मोहन गुर्धामीले बताउनुभयो । “दैजीदेखि बेदकोट ताल भन्दामाथि सिन्यारी भन्ने ठाउँसम्म कालोपत्र सडक पुगेको छ,” उहाँले भन्नुभयो, “करिब १०/१२ किलोमिटर सडक कालोपत्र भएको छ ।”

विगतमा बेदकोट ताल पुग्नका लागि ग्राभेल सडकको बाटो हिँड्नुपर्ने बाध्यता थियो । पर्यटकीयस्थल बेदकोट ताल कालोपत्र सडक सञ्जालसँग जोडिएपछि आवातजावतमा सहज भएको स्थानीय महेश जोशीले बताउनुभयो । “ग्राभेल सडक हुँदा आवागनमा सास्ती भाग्नु परेको थियो, अहिले कालोपत्र सडक बनेपछि सहजै ओहोरदोहोर गर्न सकिएको छ,” उहाँले भन्नुभयो, “तालसम्मै गाडी चढेर पुग्न सक्छौँ ।”

कञ्चनपुरको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको बेदकोट ताल अवलोकनका लागि आन्तरिक र बाह्य पर्यटक आउने गरेका छन् । निर्माणाधीन अवस्थामा रहेको कञ्चनपुरको दैजीदेखि डडेल्धुराको जोगबुढासम्म जोड्ने सडक योजना अन्तर्गत बेदकोट तालसम्म सडक सञ्जाल पुगेको छ । बेदकोट तालसम्म सडक सञ्जाल पुगे पनि पछिल्लो समय दैजी(जोगबुढा सडक योजनाको काम सुस्तगतिमा छ ।

विसं २०४२ मा निर्माण सुरु भएको दैजी–जोगबुढा सडकखण्ड अझैसम्म पूरा हुनसकेको छैन । यो सडक तराईदेखि सुदूरका पहाडी जिल्ला जोड्ने सबैैभन्दा छोटो दूरीको सडकका रुपमा हेरिएको छ । रासस