फाइल तस्वीर
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशासन, सेवा प्रवाह तथा जनजीविकासँग जोडिएका विषयमा तत्काल काम गर्ने वातावरण बनाउन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री प्रचण्डले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित बैठकमा मन्त्रालयका सचिवहरूलाई सुशासन, सेवा प्रवाह तथा जनजीविकासँग जोडिएका विषयमा छिटो छरितो काम सम्पादन गर्न निर्देशन दिनुभएको हो ।
जनतासँग दैनिक रुपमा प्रत्यक्ष सरोकार रहने सरकारी विभाग, कार्यालयहरुमा सेवाग्राहीहरुले पाउनु पर्ने सेवामा हुने गरेका ढिलासुस्तीप्रति प्रधानमन्त्रीले जिज्ञासा राख्दै आम नागरिकले सेवा प्रवाहमा भोग्नुपरेको सास्तीलाई तत्काल निरुपण गरी सेवा प्रवाह गर्न मन्त्रालयका सचिवहरूलाई निर्देशन दिनुभएको छ ।
सङ्घीयताको अभ्याससँगै घरदैलोमा नै सेवा पुग्ने जनअपेक्षा पूरा हुन नसकेको प्रति दुखेसो व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले ‘नागरिकले आशा गरेअनुरूप विगत पाँच वर्षको कार्यसम्पादन सन्तोषजनक नभएको’ औल्याउनु भयो । ‘अहिले तपाईँ हामी यो बैठक गरिरहँदा राहदानी लिन बिहान २ बजेदेखि लाइनमा बसेको समाचार प्रकाशित भएको छ । राष्ट्रिय परिचयपत्र लिने सास्ती उत्तिकै छ । त्यो परिचयपत्र किन आवश्यक भएको हो भन्ने प्रश्नको चित्तबुझ्दो उत्तर हामीसँग छैन । सवारी चालक अनुमति पत्र लिन पनि वर्षाैं कुर्नुपर्ने अवस्था छ’ भन्नुहुँदै प्रधानमन्त्रीले ‘अहिलेकै गतिमा राष्ट्रिय परिचयपत्रको काम हुने हो भने तीन करोड नेपालीको हातमा परिचयपत्र पुग्न दशौं वर्ष लाग्ने अवस्था देखियो, यसको अन्त्य कसरी गर्ने ? भन्दै तत्काल कार्यसम्पाद गर्न निर्देशन दिनुभयो ।
सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, यातायातजस्ता आधारभूत सेवा, राहदानी, सवारी चालक अनुमतिपत्र, राष्ट्रिय परिचयपत्र वितरण तथा मालपोत कर दस्तुर बुझाउने जस्ता सेवा लिन नागरिकले बेहोरेका सास्ती हटाउने काम तत्काल प्राथमिकतामा राखेर काम गर्न मन्त्रालयका सचिवहरुलाई निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री प्रचण्डले सचिवहरुलाई कडा निर्देशन दिंदै ‘सरकार गठनको एक महिनाभित्र राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमति पत्र, शिक्षा मन्त्रालयबाट प्रदान गरिने नो अब्जेक्शन लेटर, सरकारी अस्पतालमा बिरामीको उपचार, मालपोत, नापी, कर दस्तुर बुझाउने ठाउँमा सेवाग्राहीले अहिलेजस्तै लाइनमा बस्ने सास्ती देखियो भने जिम्मेवार पदाधिकारीलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्ने अवस्थामा आउन सक्दै भन्दै चेतावनी समेत दिनुभएको छ ।
प्रधानमन्त्रीले जनतासँग प्रत्यक्ष सरोकार रहने विषयका साथै गृह प्रशासनलाई अपराधसँग सम्बन्धित उजुरीहरू तत्काल फर्छ्योट गरी कार्यसम्पादन गर्न निर्देशन दिनुभएको छ । सोहीक्रममा प्रधानमन्त्रीले ‘अबको तीन महिनाभित्र सवारी दुर्घटना घटेको, अपराधसँग सम्बन्धित मुद्दा फर्छ्योटको र मिटर ब्याजीको मुद्दा नतीजा देखिने गरी सम्बोधन भए÷नभएको आधारमा सम्बद्ध मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कन हुने भन्दै यस्ता समस्याहरुलाई तत्काल निरुपण गर्न निर्देशन दिनुभएको छ ।