फाइल तस्वीर


काठमाडौं – स्पिकर्स फोरम नेपालका संयोजक राजबहादुर शाहीले प्रदेशसभालाई प्रभावकारी बनाउन जोड दिनुभएको छ । स्पिकर्स फोरम नेपालद्वारा आज मङ्गलबार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै संयोजक शाहीले यस्तो धारणा राख्नु भएको हो ।

संस्थापक प्रदेशसभाका सभामुख र उपसभामुखहरूको अनुभवबाट प्रदेशसभालाई आगामी दिनमा झनै प्रभावकारी बनाउँदै लैजानु आवश्यक रहेको भन्दै प्रदेशसभाका निवर्तमान सभामुख शाहीले प्रदेशसभामा पारदर्शीताको अपरिहार्यतालाई स्थापित गर्न आवश्यक रहेको बताउनु भयो ।

प्रदेशसभाका सभामुख र उपसभामुखको साझा फोरम स्पिकर्स फोरम नेपालका संयोजक शाहीले प्रदेश संसदले सरकार एवम् शासन व्यवस्थालाई पारदर्शी बनाउने दावी समेत गर्नुभयो । कार्यक्रममा बोल्दै संयोजक शाहीले ‘पारदर्शीताको आधार स्तम्भ भनेकै विधायिक खुलापन हो भन्ने मान्यता अनुरूप हामी आफूहरूले आर्जन गरेको अनुभव र ज्ञानलाई संसदीय खुलापनको क्षेत्रमा वकालत गर्न लगाउने विचार गरेका छौँ। हाम्रा संसदहरू जति क्रियाशील र खुला हुन्छन् सरकार र व्यवस्था त्यत्तिनै पारदर्शी हुन्छ’ – भन्नुभयो ।

पारदर्शी सरकार नै देश र जनताप्रति जिम्मेवार र जवाफदेही बन्छन् हुने भन्दै संयोजक शाहीले ‘जनताप्रति उत्तरदायी बन्ने भनेको पारदर्शी सरकार हो । त्यसैले पारदर्शीताको आवश्यकता छ’– भन्नुभयो । संसदीय खुलापनलाई पनि हामीले अवलम्वन गर्नुपर्नेछ, त्यसमा हामी सबैले प्रोत्साहन दिनुपर्छ।प्रदेशसभाको विधायिकी स्वायत्तता , विधायिकी खुलापन र विधायिकी जवाफदेहीतामा मेहनतका साथ काम गर्नुपर्नेछ। प्रदेशसभालाई प्रभावकारी बनाउँदै लैजानुपर्छ। यसका लागि नयाँ नेतृत्वलाई हाम्रो अनुभव महत्त्वपूर्ण हुन्छ’– संयोजक शाहीको भनाइ थियो ।

नेपालको सङ्घीय संरचनाको महत्त्वपूर्ण पक्ष नै प्रदेश संरचना हो भन्दै संयोजक शाहीले पहिलो कार्यकालको कामको समीक्षा गरी संवैधानिक, राजीैतिक र विधायिकी अड्चनहरूको पहिचान र निरुपण गर्न आवश्यक रहेको जिकिर समेत गर्नुभयो ।