सोलुखुम्बु — सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको स्वास्थ्य संस्थालाई रु १६ लाख बराबरको स्वास्थ्य सामग्री प्राप्त भएको छ । फाउन्डेसन फर इन्टरनेश्नल डेभलपमेन्ट पब्लिक रिलिफ जापानिज संस्थाले पालिकाभित्रका छ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री प्रदान गरेको हो ।

गाउँपालिकाका वडा नं १, ४ र ५ मा सञ्चालित स्वास्थ्य चौकीलाई रु दुई÷दुई लाख, वडा नं ३ का दुई स्वास्थ्य चौकीलाई रु दुई÷दुई लाख र वडा नं २ को प्राथमिक स्वास्थ्य केन्द्र दोदीलाई पाँच लाख बराबरका स्वास्थ्य सामग्री सहयोग गरेको प्रोजेक्ट म्यानेजर गुणवीर नेवारले बताउनुभयो ।

उहाँका अनुसार रेफ्रिजेरेटर, हाइस्केल, डिजिटल थर्मोमिटर, माइक्रोस्कोप, बेबी वार्मर, वासिङ मेसिन, बिपी सेट, डेन्टल सेट र ग्लब्सलगायतका सामग्री प्रदान गरिएको छ । कार्यक्रममा नेचा, सल्यान गाउँपालिका उपाध्यक्ष बिना राईले स्वास्थ्य संस्थालाई आवश्यक सामग्री प्राप्त भएको भन्दै सहयोगी संस्थालाई धन्यवाद दिनुभयो ।

वडा नं १, २ र ३ का स्वास्थ्य संस्थालाई सोमबार सामग्री हस्तान्तरण गरिएको छ भने वडा नं ४ र ५ का स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्न बाँकी छ ।