फाइल तस्वीर
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मङ्गलबार सरकारको काम कारवाहीलाई चुस्त र प्रभावकारी बनाउन निर्देशनात्मक सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्री दाहालले हिजो सोमबार सरकारका सचिवहरुका कार्यविवरण सुनेपछि आजका लागि आवश्यक निर्देशनात्मक सम्बोधन गर्न लाग्नु हो ।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि सुशासनका साथै नागरिकलाई सरल र सहजरुपमा सेवा प्रदान गर्ने प्रतिबद्धतासहित घोषणा गर्नुभएको थियो । प्रधानमन्त्री नियुक्त भएपछि उहाँले नागरिकलाई सेवा प्रदान गर्ने निकायमा भइरहेको बेथितिलाई अन्त्य गर्ने बताउनु भएको थियो । सोही अनुसार मन्त्रालयका सचिवहरुसँग हिजो साक्षात्कार गरेपछि प्रधानमन्त्री दाहालले आज निर्देशनात्मक सम्बोधन गर्न लाग्नु भएको हो ।

सरकारको नेतृत्व सम्हाल्ना साथ प्रधानमन्त्री दाहालले विशेष गरी राहदानी वितरण र सवारी चालक अनुमतिपत्रलगायत विभाग तथा कार्यालयहरुमा सेवाग्राहीको चरम भीडभाडप्रति सम्वेदनशीलता देखाउँदै यस्तो बेथितिलाई तत्काल हटाउने बताउनु भएको थियो । सरकारी कार्यालयको कामलाई सरल र सहज बनाउने प्रधानमन्त्री दाहाल आफ्नो योजनाअनुसार पहिलो चरणमा हिजो सचिवहरुसँग छलफल गर्दै मन्त्रालय र तत्तत् विभागहरुको कार्यविवारणका बारेमा जानकारी लिनुभएको थियो ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा सचिवहरुले आ–आफ्नो मन्त्रालयको वार्षिक बजेट, नीति तथा कार्यक्रम र कार्यसम्पादनमा भएका कमी तथा कमजोरीका बारेमा बारे प्रधानमन्त्रीलाई ‘रिपोर्टिङ’ गर्नुभएको थियो । प्रधानमन्त्री दाहाल आफ्नो तेस्रो कार्यकाललाई जनताले अनुभूत गर्न सक्नेगरी काम गर्न खोज्नु भएको छ । सरकारलाई सफल या असफल बनाउने मुख्य अवयव भनेकै स्थायी सरकार मानिने निजामती प्रशासन भएको हुँदा निजामती प्रशासन नै सुशासनका साथै नागरिकलाई सरल र सहजरुपमा सेवा उपलब्ध गराउन दृष्ढ सङ्कल्पित हुनु पर्दछ ।